रामचन्द्र अधिकारी
समय ओथारो बसेको धेरै भयो,
समय गुफा पसेको धेरै भयो,
न समयले फूल पा¥यो !
न बच्चा जन्मायो,
साँच्चै ऋषिमाया
समय त नपुंसक पो रहेछ ।
समय संसद भवन पसेर
हस्तमैथुन गरिरहेछ,
असीमित पुनरावृत्तिमा
समय,
सिंहदरबार पस्छ, निस्कन्छ,
खै हल्ला चल्छ,
समय दिल्लीसँग सहवास गर्दै छ !,
समय गुरुकुल अनि
नाचघरहरुमा,
सर्वाधिक प्रदर्शित हुन्छ,
र अभिनय गर्छ पेट बोकेको,
हामी ‘वुद्ध जन्मेला’को प्रतीक्षामा
वेफिक्री कुरिरहेछौ,
साच्चै हाम्रो–
विपला बुद्धकै प्रतीक्षा छ ।
समय अजव समय,
पटक–पटक भाखा नाघ्छ,
र भन्छ दुईजिउकी छु,
हुन त समय इतिहासमा कैयन पटक
तुहेको छ,
साल सालमा
सन्तानब्वे, सात, सत्र, छत्तीस, छयालीस,
वाउन्न, बैसठ्ठी, त्रिसठ्ठी र त्यसपछिका ठ्ठीहरुमा,
यस्तै समय तुहिरह्यो
जेठ उन्नाइस, माघ उन्नाइस र शुक्रबारहरुमा
अनि जेठ चौध बनेर ।
साच्चै समय तुहिरहेको छ ।
ओ ऋषिमाया !
अति भएपछि त,
चट्टान पनि फुट्छ र
पिपल उम्रन्छ भन्छन्,
आऊ,
यसपाली समयको भाखा आउनु
अघि हामी हाम्रो भाखा तय गरौं,
म तिमीलाई गर्भवती बनाउँछु
र तिमी जन्माऊ
त्यस्तो समय,
बुद्ध जस्तो समय,
जुन समयले छल गर्दैन,
जुन समयले कपट गर्दैन ।।
– ढिकुरपोखरी–९, कास्की
ramchadra g ko कविता nikai man पर्यो.ram g kya बब्बाल cha……………………………