– कृत्रिम स्याङ्जाली
ओ ! मलेवी,
वासँुला झै किन फट्फटाइरहेछौ पखेटा ?
कतै युग नै फेरुँला झैं
किन गाइरहेछौ नयाँ–नयाँ गीत
अण्डा पार्ने काम हो तिम्रो,
आथारो वस्ने काम हो तिम्रो
चल्ला कोरल्ने धर्म हो तिम्रो
किन यी सबलाई लत्याउँला झैं
उचालिरहेछौ पाइला
फट्फटाइरहेछौ पखेटा !
ओ चरी ! परिवर्तनको इन्द्रेणी सपना
आँखाभरी सजाउनु हुँदैन
स्वतन्त्रताको कावा खाने परिकल्पना
वोकेर हृदयभरी छट्पटाउनु हुँदैन
हुँदैन तिमीले मालिकको अपमान गर्न
मालिकको त पाउ पो पर्नुपर्छ
सुहाउँदैन अधिकारको कुरा गर्न
तिमीले अधिकार माग्नु भनेको
उत्ताउलो हुनु हो
विर्सियौ एउटा कविले भनेको ?
“ पोथी वास्नु हुँदैन”
वास्ने पोथीलाई धुरीमा छ्याक्क पानुपर्छ,
भैगो…. प्रिय मलेवी भैगो
तिमी भित्र सल्वलाइरहेको चतना
रहनदेऊ त्यसै
तिमीभित्रको धीरताको बाँध बाँधिन देऊ अझैं
जीवनका साङ्लाहरुमा जकडिएका अवयवहरु
जुर्मुराए भने चेतनासँगै
तिम्रो मालिक
हो, तिम्रो आफ्नो मालिक पनि
बढारिन सक्छ सर्लक्कै
र भाच्चिन सक्छ आतङ्कीत अन्धकार बस्तीमा ।
प्रिय चरी,
तिमीले पिउनु पर्छ आँशुका फेवातालहरु
पहिरिनुपर्छ नीतिनीयमका
अपरिवर्तनीय गुन्यु चोलीहरु
नगर भो,
भैगो नगर
परिवर्तन, स्वतन्त्रता
र अधिकारका
व्यर्थै होहल्लाहरु
अर्थहिन चिच्याहटहरु ! !
– पोखरा
वेब राम्रो लाग्यो . अझ धेरैलाई समेटेर लैजानु होला .